निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण साेध्याे
काठमाडौं, ४ कात्तिक – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग स्पष्टीकरण सोधेको छ। झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मालाई आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो।
उनलाई आचारसंहिता उल्लंघनमा कारबाही नगर्नुको कारण २४ घण्टाभित्र निर्वाचन आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न भनेको आयोग स्रोतले जनाएको छ।
‘आफैँ उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस उहाँ (शर्मा) लाई पत्र पठाएका छौं,’ स्रोतले भन्यो। स्रोतका अनुसार शर्माले आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा देखिएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आयोगले यसअघि प्रधानमन्त्रीको कार्यालय, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, सहरी विकासमन्त्री मेटमणि चौधरीलगायतलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिसकेको छ।

