एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत
काठमाडौं, २१ असोज – एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् ।
दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो । राप्रपा नेता बुद्धिमान तामाङले दिएको जानकारी अनुसार अब दुई पार्टी मिलेर चुनाव लड्ने पक्का भएको छ ।
‘हो, यति कुरा लेखे हुन्छ, अब कुनै दुई मत छैन,’ तामाङले भने, ‘कति सिटमा कहाँ कहाँ कुरा मिल्यो भनेर उहाँ (ओली) ले अहिले बाहिर नभन्नु भन्नुभएको छ ।’
तामाङले भोलि बिहान १० बजेभन्दा अगावै सिट सूची सार्वजनिक हुने बताए । बालकोट जाने नेताहरुमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ थिए ।

