बहालवाला न्यायाधीशलाई संसदीय समितिले बोलाउन मिल्दैन : बार एशोसिएसन

काठमाडौं, २९ भदौ – नेपाल बार एशोसिएसनले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीशलाई बोलाउन नमिल्ने बताएको छ ।

बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले  महाअभियोग प्रस्ताव दर्ता भएको अवस्थामा बाहेक सर्वोच्च अदालतका न्यायाधीशलाई संसदीय समितिले बोलाउन नमिल्ने बताए ।

‘महाअभियोग प्रस्ताव दर्ता भएकोमा बाहेक सर्वोच्च अदालतका न्यायाधीशलाई संसदीय समितिले बोलाउन मिल्दैन’ उनले भने, ‘उहाँहरुले नबुझी निर्णय गर्नुभएको छ ।’

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिनका क्रममा सर्वोच्चका न्यायाधीशहरुलाई पनि बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

समितिको उक्त निर्णय बेठीक भन्दै बार अध्यक्ष घिमिरेले न्यायाधीशलाई साक्षीको रुपमा उपस्थित गराउन नमिल्ने बताएका हुन् । ‘वकिल वा पूर्वन्यायाधीशलाई बोलाउन मिल्यो, तर बहालवाला न्यायाधीशलाई बोलाउन मिल्दैन’ अध्यक्ष घिमिरेले भने ।

Facebook Comments Box