आज बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ – अहिले पाँचवटा प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

बुलेटिनअनुसार आज राति देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box