आज देशभर मौसम बदली भई केहि स्थानमा वर्षा हुने सम्भावना

काठमाडौँ, ८ भदौ – आज देशभर मौसम बदली भई विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर मौसम आंशिकदेखि सामान्य बदली छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘आज कतै भारी वर्षाको सम्भावना भने छैन’, मौसमविद् नगरकोटीले भनिन्।

महाशाखाले देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

Facebook Comments Box