कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि
काठमाडौँ, २९ साउन – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय भेला आयोजक समितिको प्रचारप्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन समारोह दिउँसो १ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन सत्र सञ्चालन हुनेछ भने त्यसपछिका दुई दिन बन्द सत्र हुनेछन् । उहाँका अनुसार ३० साउनमा बिहान ८ बजेदेखि ९ बजेसम्म खाजाको समय छुट्याइएको छ ।
त्यसपछि मध्याह्न १२ बजेसम्म बन्द सत्र सञ्चालन हुनेछ भने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय निर्धारण गरिएको छ । भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ ।

