बंगलादेशसँग खेल्ने एक मैत्रीपूर्ण खेलका कार्यवाहक प्रशिक्षकको जिम्मा प्रदीप हुमागाईंलाई
काठमाडौँ, २६ साउन – नेपालले आगामी असोज ११ गते बंगलादेशसँग खेल्ने एक मैत्रीपूर्ण खेलका कार्यवाहक प्रशिक्षकको जिम्मा प्रदीप हुमागाईँले पाएका छन्।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अनुपस्थित हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुमागाईंलाई उक्त खेलका लागि कार्यवाहक प्रशिक्षक बनाएको हो।
एन्फाको बिहीबार जारी दोस्रो कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो। अल्मुताइरीले आफू बिरामी भएको भन्दै स्वास्थ्य लाभ गरिरहेका छन्। त्यहीकारण बंगलादेशविरुद्धको दशरथ रंगशालामा हुने खेलमा हुमागाईँले नेतृत्व लिने भएका हु्न्।
एन्फाको नयाँ अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भइसकेका छन्। उनी उपाध्यक्ष हुँदा अल्मुताइरीसँग विवाद देखिएको थियो। तर नेम्वाङ नेतृत्वको एन्फाले अहिलेसम्म अल्मुताइरीलाई नै निरन्तरता दिने बताउँदै आएको छ।
अल्मुताइरी कतारमा भएकाले दुई पक्षबीच संवाद भएको छैन। अल्मुताइरीसँग विवाद भएपछि प्रशिक्षण क्याम्प छाडेका राष्ट्रिय टिमका सदस्यहरुलाई एन्फाले टिममा फर्काउने निर्णय भने गरिसकेको छ।

