दोलखाको विगु गाउँपालिका–४ मा भीषण वर्षापछि आएको पहिरोले घर पुरियाे, बस्ती पूरै जोखिममा

काठमाडौँ, २६ साउन – दोलखाको विगु गाउँपालिका–४ मा भीषण वर्षापछि आएको पहिरोले केही घर पुरिएको छ। बुधबार साँझको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका ४/५ वटा घरहरु पूर्ण रुपमा पुरिएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिइन्।

थामीका अनुसार पहिरो गएको सो क्षेत्रको बस्ती नै जोखिममा परेको छ। स्थानीयको पहलमा नेपाल प्रहरी र जनप्रतिनिधिहरु उद्धारमा खटिएको उपाध्यक्ष थामीले जानकारी दिइन्। ‘यहाँको अवस्था एकदमै खराब बन्दै गएको छ। पुरिएको घरहरुबाट सामान झिक्दै छौं,’ उपाध्यक्ष थामीले भनिन्, ‘एउटा बस्ती नै जोखिममा परेको छ। अहिले पनि पहिरो झरेको झर्‍यै छ।’ पूर्ण रुपमा ४/५ घर क्षत–विक्षत भएको भएतापनि बस्ती नै पूरै जोखिममा परेको उनले बताइन्। यद्यपी मानवीय क्षति भने अहिलेसम्म भएको छैन्।

‘क्षति विक्षत भएको चाँही ४/५ घर हो। तर बस्ती पूरै जोखिममा रहेको छ,’ उपाध्यक्ष थामीले भनिन्, ‘लगभग ३०/४० वटा घर भएको बस्ती नै जोखिममा छ।’ बुधबार वर्षा र रात परेपछि उद्धारको कार्यमा सहभागी हुन पाइएको थिइन्। बुधबार बिहानैबाट पहिरोले पुरिएका घरहरुमा भएका सामानहरुको उद्धार भइरहेको छ।

Facebook Comments Box