विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक अन्तिम १६ मा

काठमाडौं, १५ असार – क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा ऐतिहासिक रूपमा पहिलोपटक स्थान बनाएको छ। अमेरिकाको लस एन्जलस रंगशालामा आज सम्पन्न पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो।

क्यानडाको जितमा स्टेफेन युस्टाकियो नायक बने। उनले दोस्रो हाफको इन्जुरी समयमा गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो। योसँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडाले पहिलोपटक अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। यसअघि क्यानडा सहभागी भएका दुवै विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।

क्यानडा समूह ‘बी’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको थियो भने दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको थियो। अब क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि अर्को चुनौती सामना गर्नेछ।

Facebook Comments Box