प्रदेश १ को नाम कोशी राख्न दलहरु सहमतिनजिक

काठमाडौं, २४ असार – पाँच वर्षे कार्यकाल बित्न लाग्दा प्रदेश १ को नाम कोशी राख्न दलका शीर्ष नेताहरु सहमतिनजिक पुगेका छन्। अब २०७४ मा निर्वाचित प्रदेशसभाको कार्यकाल ५ महिना मात्रै बाँकी रहेको अवस्थामा दलका शीर्ष नेताहरुले कोशीमा सहमति जुटाउन लागेका हुन्। काठमाडौंमा बसेको दलका शीर्ष नेताहरुको बैठकले प्रदेश १ को नाम देशकै ठूलो नदी कोशी कायम गर्ने समझदारी गरेका हुन्।

प्रदेश १ मा राई र लिम्बुहरुको बाक्लो बसोबास छ। यस्तोमा किरात, लिम्बुवान, कोशी-किरात, सगरमाथा-किरातसहितका नाम राख्नुपर्ने बहस चलेको थियो। तर दलहरुले अब अन्य प्रदेशको जस्तै कुनै जातीय पहिचान नजोडी नाम जुराउन लागेका हुन्। प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई र दोस्रो मुख्यमन्त्री भीम आचार्य प्रदेशको नाम नजुराई बिदा भए।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको तर्फका मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो कार्यकालमा नाम जुराउने बताइरहेका छन्। राईलाई किराती र लिम्बु समुदायले सकेसम्म जातीय पहिचान खुल्ने नाम राख्न दबाब दिएका छन्। उनी कोशी या सगरमाथा पछाडि किरात जोडेर नाम राख्ने पक्षमा देखिएका थिए।

तर शीर्ष तहको नेतृत्वले कोशी मात्रै सिंगल शब्दको नाम राख्ने कुरामा सहमति जुटाएका हुन्। अब प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी जुराउने प्रस्ताव अघि बढाउने छ।

Facebook Comments Box