दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दै

बैतडी, २२ असार – बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ ।

कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा इन्टरनेट जडान भएपछि प्राविधिक विषयको पठनपाठन गर्न सहज हुने विश्वास छ । विद्यालयलाई प्रविधिमैत्री सहज हुनेछ ।”

ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकाका २७ विद्यालयलाई उपकरण हस्तान्तरण गरिएको छ । इन्टरनेट जडान गर्ने उपकरण प्राधिकरणले उपलब्ध गराएको र ती उपकरण विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम क्षेत्रका विद्यार्थीको इन्टरनेटमा पहुँच पु¥याउन प्राधिकरणको सहयोगमा उपकरण वितरण गरिएको हो ।

स्थानीय तहहरूले हटाउँदै करारका शिक्षक र कर्मचारी

बैतडीका स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् । साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो । विसं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई साउन १ गतेदेखि काममा नआउन भनिएको छ ।

अन्धाधुन्धरूपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो । स्रोत सुनिश्चितता नगरी चुनावलाई लक्षित गरेर कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा रु ७७ लाख अपुग भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको र कार्यदलले मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने र सोहीअनुसार करारका कर्मचारीको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताउनुभयो ।

गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको भन्दै अध्यक्ष जोशीले करारमा कर्मचारी राख्ने कुरालाई निरुत्साहित गरिने स्पष्ट पार्नुभयो । यस्तै करार शिक्षकका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरिनसकेकाले विद्यालयलाई सचेत गराइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताउनुभयो ।

केही विद्यालयले करार शिक्षकहरूको आफूखुसी करार नवीकरण गरिरहेको भन्ने खबर आएकाले त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको हो । करार शिक्षकका विषयमा अहिलेसम्म नगरपालिकाले निर्णय गरिनसकेकाले करार अवधि थप्ने कार्य नगर्न विद्यालयहरूलाई सचेत गराइएको हो । दशरथचन्द नपा शिक्षा शाखाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने÷नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ ।

Facebook Comments Box