मन्त्री फेर्ने भन्नेबारे हामीलाई थाहा छैन, पार्टीलाई पनि थाहा छैन : विरोध खतिवडा
काठमाडौँ, २३ जेठ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पार्टीले मन्त्री फिर्ता बोलाउनेबारे गरेको निर्णयमा अनविज्ञता प्रकट गरेका छन्। उनले पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरेकोबारे आफूलाई केही थाहा नभएको बताएका हुन्।
पार्टीले तपाईंलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको रहेछ, कसरी हेर्नुभएको छ? भन्ने प्रश्नमा उनले भने, ‘के निर्णय गरेको छ र? मन्त्री फेर्ने भन्नेबारे हामीलाई थाहा छैन। फेर्ने हामीलाई हो हामीलाई नै थाहा छैन। पार्टीलाई पनि थाहा छैन।
पार्टीको कुनैपनि बैठकले यस्तो निर्णय नगरेको उनले दाबी गरे। ‘बाहिर कसलाई थाहा भयो हामीलाई त्यो पनि थाहा छैन,’ उनले अघि भने, ‘कुन नेताले यसबारे तपाईंहरुलाई जानकारी दिनुभयो थाहा छैन। कुन मिटिङबाट भयो त्यो पनि थाहा छैन।’
आफू अहिलेसम्म स्वास्थ्यमन्त्री भएको र हटाउन पार्टीले केही निर्णय नगरेको उनले बताए। ‘हामी मन्त्री हो हामीलाई अहिलेसम्म थाहा छैन’ खतिवडाले भने।
नेकपा एकीकृत समाजवादीले आइतबार मात्रै मन्त्री खतिवडासहितका अन्य ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। गोविन्द बन्दीलाई कानुनमन्त्रीबाट भने फिर्ता बोलाइएको छैन्।
यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको नेता मेटमणि चौधरीले बताएका छन्। चौधरीलाई भने शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको उनले बताए।

