भूमिसम्बन्धी विधेयक चाँडै पारित हुने सभामुख घिमिरेको विश्वास
झापा, ३२ असार – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभएको छ। झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित धनीपूर्जा वितरण कार्यक्रममा बोल्दै उहाँले नयाँ कानून बनेपछि वर्षौँदेखि थाती रहेका भूमि समस्या समाधान हुने बताउनुभयो।
सभामुख घिमिरेले राजस्व महङ्गो हुँदा अघिल्ला आयोगले धनीपूर्जा वितरण गर्न नसकेको स्मरण गर्दै, अहिलेको सरकारले राजस्व पाँच प्रतिशतमा झारेपछि धनीपूर्जा लिन इच्छुकको सङ्ख्या बढेको उल्लेख गर्नुभयो।
“धेरै सुकुम्बासीले अझै धनीपूर्जा पाएका छैनन्, अब कानुनी आधारमा समाधान हुन्छ,” सभामुख घिमिरेको भनाइ छ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गरिएको छ। सभामुख घिमिरेले तीमध्ये १० जना ज्येष्ठ नागरिकलाई व्यक्तिगत रूपमा धनीपूर्जा हस्तान्तरण गर्नुभएको थियो।

