दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३४ जना घाइते
काठमाडौँ, १२ जेठ – दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेतका लागि छुटेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक बुधबार राति दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका-३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका-३ कै ३२ वर्षीया धनकला शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते १७ जनालाई रातिनै उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनामा घाइते भएका अरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ। बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो । चालकलाई पक्राउ गरि दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

