नेपाल–भारत सम्बन्ध अतुलनीय : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
काठमाडौं, १ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सभ्यतामा आधारित जनस्तरको अतुलनीय सम्बन्ध रहेको बताएका छन्। लुम्बिनी भ्रमणको एक दिनअघि विदाइ मन्तव्य जारी गर्दै मोदीले दुई देशको सम्बन्धबारे बताएका हुन्। मोदी भोलि सोमबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउँदै छन्। उनी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री हुन्।
भारतीय प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा मोदीले भनेका छन्, ‘म बुद्धजयन्तीको पावन अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न पाउँदा उत्साहित छु। भगवान बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न लाखौं भारतीयसँगै लुम्बिनी जान पाउँदा म गौरवको महशुस गरिरहेको छु।’
मोदीले नेपाली समकक्षी शेर बहादुर देउवासँगको भेटवार्तामा जलविद्युत्, विकास र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहयोग विस्तार गर्नेबारे कुराकानी गर्ने बताएका छन्।
‘प्रधानमन्त्री देउवाको गत महिना उनको भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि म फेरि भेट्न पनि उत्साहित छु। हामी जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न हाम्रो साझा समझदारीलाई निरन्तरता दिनेछौँ’, उनले वक्तव्यमा भनेका छन्।
पवित्र मायादेवी मन्दिरको दर्शनका अलावा लुम्बिनी विहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको ‘शिलान्यास’ समारोहमा पनि सहभागी हुने मोदीले उल्लेख गरेका छन्। ‘म नेपाल सरकारले आयोजना गर्ने बुद्ध जयन्तीको अवसरमा हुने समारोहमा पनि सहभागी हुनेछु’, उनले भनेका छन्।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदी पाँचौँपटक नेपाल भ्रमणमा आउनलागेका हुन्। २०१९ मा प्रधानमन्त्रीमा फेरि निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो। भ्रमण शताब्दीयौँ पुरानो तथा अन्तर्मिलनको परिणामस्वरुप ऐतिहासिक रुपमा अघि बढेका समयानुकूल सम्बन्धहरूलाई अझ गहिरो बनाउन हुनलागेको मोदीले बताएका छन्।

