आज पनि सबै प्रदेशमा वर्षाको सम्भावना : मौसमविद्

काठमाडौं, ३० वैशाख – आज पनि सबै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। आज देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ। बिहान ७ बजे मतदान सुरु हुँदै छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहानलाई वर्षाको सम्भावना छैन, तर दिउँसोदेखि पानी पर्ने सम्भावना छ।

‘अहिले बिहानबाटै वर्षा हुने सम्भावना छैन, राति कतिपय स्थानमा वर्षा भएको थियो, त्यो रोकिइसकेको छ’, मौसमविद् पौडेलले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘दिउँसोदेखि बेलुकातिरसम्म वर्षा हुने देखिन्छ।’ उनका अनुसार विशेषगरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ, साथै लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ का तराई भेगका पनि वर्षा हुने सम्भावना छ।

‘लगातारको वर्षा हुँदैन, दिउँसोदेखि बेलु्का ६/७ बजेसम्म वर्षा हुने देखिएको छ’, उनले भने, ‘खण्डखण्ड टाइपको वर्षा हुन्छ, एउटै जिल्लामा पनि सबै ठाउँमा वर्षा नहुन सक्छ।’ बिहान नजिकको मतदान केन्द्रमा जाँदा ओढ्ने लिएर जान नपरे पनि दिउँसोपछि मतदानमा सहभागी हुनेहरूले भने ओढ्ने लिएर जान मौसमविद् पौडेलेको सुझाव छ। यस्तै मतदान केन्द्रमा पनि प्लास्टिकजस्ता केही ओत राख्न उनले सल्लाह दिएका छन्।

आज दिउँसो : प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का केही स्थानमा साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Facebook Comments Box