भक्तपुर र ६ महानगरका मतपत्रको अलग्गै डिजाइन गर्ने बारे एमालेको आपत्ति

काठमाडौं, ११ वैशाख – नेकपा एमालेले निर्वाचन आयोगले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनेर सार्वजनिक भएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमालेले आइतबार यसबारे निर्वाचन आयोगलाई ध्यानकर्षण पत्र नै बुझाएको छ ।

‘भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाई हुने भनी हिजो केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ’, एमालेले भनेको छ, ‘केही दिन अघि गठबन्धन दलका केही शीर्ष नेताहरुको अभिव्यक्ति यस समाचारसँग मिल्दोजुल्दो देखिन्छ ।

अनलाइनहरुले आयोगको सुत्रका अनुसार भनी प्रकाशित गरेको यो समाचार यदि सही हो भने अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ ।’

एमालेले निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्न हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त रहेको पनि जनाएको छ । यद्यपि प्रकाशित समाचारहरूले आम जनतामा गम्भीर प्रश्न उत्पन्न भएको हुँदा यसप्रति आयोगको ध्यानाकर्षण गर्दछौं।

स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जनु तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउन हुन अनुरोध समेत गर्दछौं’, आयोगलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

Facebook Comments Box