आज नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचन

काठमाडौं, १९ चैत – नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुने भएको छ। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

उक्त समूहमध्ये प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरे।

निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि आज बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ भने अपराह्न ४ बजे सम्पन्न हुनेछ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ। निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता छन्। त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० छन्।

सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ। उपत्यकामा धेरै मतदाता भएकाले चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जनकारी दिए।

Facebook Comments Box