त्रिविले गर्‍यो समकक्षासम्बन्धी कार्यविधि संशोधन

काठमाडौँ, १५ असोज – त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले समकक्षता सम्बन्धी कार्यविधि संशोधन गरेको छ । १३ भदौमा बसेको त्रिवि कार्यकारी परिषदको बैठकले विश्वका उत्कृष्ट विश्वविद्यालयको विद्यावारिधि प्रमाणपत्रले सहजै समकक्षता पाउने गरी उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता निर्धारण कार्यविधि २०७८ को संशोधन गरेको हो ।

अब टाइम्स हाइयर एजुकेसन ¥याङ्किङ अनुसार अन्तर्राष्ट्रिय स्तरमा १ देखि ५०० सम्म रहेका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई समकक्षता प्रमाणपत्रका लागि तोकिएका कागजात पेश गरेमा सहजै समकक्षता दिने भएको छ ।

त्रिविले त्यस्ता प्रमाणपत्रका लागि सम्बन्धित डीन कार्यालयको राय नमाग्ने, प्लेजरिजम परीक्षण नगरी विश्वविद्यालयका उपाधिलाई प्रवेश योग्यता, अध्ययन अवधि वा क्रेडिट आवर र पाठ्यभारलाई आधार मानेर समकक्षता दिने निर्णय गरेको हो ।

त्यस्तै अबदेखि नेपालका अन्य विश्वविद्यालयमा अध्ययन गरेकालाई त्रिवि सेवा आयोगमा आवेदन दिने वा त्रिविमा अध्ययनका लागि भर्ना गर्ने अवस्थामा मात्र समकक्षता प्रदान गर्ने पनि निर्णय गरेको छ ।

त्रिविसँग समझदारी पत्रमा हस्ताक्षर भएका विश्वविद्यालयको उनीहरूले प्लेजारिजम परीक्षण गरेका रहेछन् र उनीहरूको मापदण्ड त्रिभुवन विश्वविद्यालयको भन्दा फरक रहेछ भने पनि मान्यता दिने कार्यकारी परिषदको निर्णय छ ।

त्यस्तै परिषद्ले समकक्षताको लागि शोध निर्देशक वा सहनिर्देशकको नियुक्तिसम्बन्धी कागजात खोज्ने व्यवस्था पनि अव्यवहारिक भन्दै हटाउने निर्णय गरेको छ ।

प्रमाणपत्र छानबिन गराई त्रिवि. सेवामा स्थायी रुपमा सेवा प्रवेश गरिसकेका शिक्षक, कर्मचारीहरूलाई सेवा प्रवेशअघिको सबै उपाधिहरूको समकक्षता प्रदान गर्ने निर्णय पनि कार्यकारी परिषदले गरेको छ ।

Facebook Comments Box