बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण आगालागी
लमजुङ, ७ चैत – लमजुङका मस्र्याङदी गाउँपालिका वडा नं. ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण आगालागी भएको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । स्थानीय बुद्धिजीवी चित्रबहादुर घिमिरेका अनुसार शनिबार दिउँसो साँढे २ बजेबाट वनमा डढेलो भएको हो ।
मस्र्याङदी नदी नजिकैको तातोपानी कुण्ड माथिबाट चिसापानी सामुदायिक आगो लागेको बताउनुभयो । वनमा एक्कासि आगालागी भएपछि आइतबार गाउँले आगो नियन्त्रणका लागि पुगेका थिए । भीषण रुपमा आगालागी भएकाले र हावा चलेकाले नियन्त्रण गर्न नसकिएको र फर्किन परेको घिमिरेले बताउनुभयो ।
स्थानीय विष्णुराज घिमिरेका अनुसार चिसापानी वनमा शनिबारबाट निरन्तर आगो लागिरहेको छ । आगो झन्झन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिएपनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सफल नभएको बताउनुभयो । निरन्तर फैलिरहेको आगोले पूरै जंगल सखाप पार्ने जोखिम बढेको बताउनुभयो ।
वनमा रहेका बोटविरुवा, रुख, बन्यजन्तुलाई क्षति पु¥याएको उहाँले बताउनुभयो । उक्त वनमा मृग पाइने भएकाले मृगको वासस्थान पनि जोखिम बनाएको बताउनुभयो । आगो लागेको वन बाहुनडाँडा बजारबाट केही टाढा रहेकाले वस्तीमा आउन सक्ने जोखिम भने कमै रहेको छ । आगो कसले लगायो भन्ने कुरा पत्ता लागेको छैन ।
आगो बढ्दै गएमा वनै सखाप हुने जोखिम देखिएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताउनुभयो । वनको करिव आधा जति भागमा आगो फैलिसकेको उहाँले बताउनुभयो । उक्त जंगलमा चिलाउने, कडुँस, काफललगायतको रुख रहेको छ ।
वडाध्यक्ष लिलाप्रसाद घलेका अनुसार चिसापानी सामुदायिक वनसंगै बाहुनडाँडा र ठुलीबेंसी बीचको मौवाघारी बनमा आगालागी भएको छ । भीषण आगालागी भएकाले नियन्त्रणभन्दा बाहिर रहेकाले जोखिम बढ्न सक्ने बताउनुभयो । उहाँले नागरिकलाई सचेत रहन अनुरोध गर्नुभएको छ ।
डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुबेदीले आगो नियन्त्रण बारे आइतबार बेलुका मात्र खबर आएको बताउनुभयो । आगो नियन्त्रण नभए जोखिम बढ्ने भएकाले यस सम्बन्धी प्रशासनसंग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
स्थानीयले खबर ढिला गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय लमजुङले आगालागी सम्बन्धि जानकारी आएको जनाएको छ । डढेलो लागेको तर, वस्तीभन्दा टाढा रहेको प्रहरीले बताएको छ ।