काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको भीड बढ्दै
काठमाडौँ, १ असोज – काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको भीड दिनप्रतिदिन बढ्दै गएको छ। विजयादशमी र तिहार नजिकिँदै गर्दा तथा त्रिभुवन विश्वविद्यालय र क्याम्पसहरू बिदा भएपछि विद्यार्थी र सर्वसाधारण गृहजिल्ला फर्किन थालेका कारण यात्रुको चाप बढेको हो।
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार हाल दैनिक १२ देखि १५ हजार यात्रु बसपार्कबाट बाहिरिन्छन्, जुन संख्या केही साताअघिको ४–५ हजारको तुलनामा उल्लेख्य वृद्धि हो। ‘जेनजी’ को प्रदर्शनका कारण अवरुद्ध सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपत्यका छाड्नेहरूको संख्या ६५ हजार नाघेको छ।
यस वर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय भइसकेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेबाटै यात्रुको चाप बढेकाले दसैँमा गृहजिल्ला जानेहरूको संख्या सामान्य वर्षभन्दा केही घट्न सक्ने बताउनुभयो।
नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लातर्फका बसहरू नियमित सञ्चालनमा छन्। सरकारले दसैँ अवधिमा यातायात सहज र व्यवस्थित बनाउन असोज ६ (घटस्थापना) देखि असोज २२ सम्म देशभरका लागि रुट परमिट खुला गरेको छ।

