माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश

काठमाडौं, ६ चैत – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्ट आइतवार नेकपा एमालेमा प्रवेश गरेका छन्।

सुर्खेत, क्षेत्र नम्बर १ (क) मा माओवादीको तर्फबाट कर्णाली प्रदेशसभामा निर्वाचित विष्टलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा स्वागत गरे।

उनीसहित पार्टी प्रवेश गर्ने करिब १५० जना नेता-कार्यकर्तालाई पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेल लगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन्।

विष्टसँगै माओवादी केन्द्रका सुर्खेत जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश छन। विष्ट एमालेमा आएपछि सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीका केही कमिटीहरू एमालेमा गाभिने भएका छन्। विष्ट एमालेतिर लागेपछि माओवादीका पाँचवटा पालिका कमिटी एमालेमा गाभिने भएका हुन्।

एमाले सुर्खेतका नेता हरि अधिकारीका अनुसार सिम्ता, सिङगाढ, गुर्भाकोट, लेकबेँसी र भेरीगंगा पालिका कमिटी एमालेमा गाभिने भएका छन्।

त्यसका लागि छलफल जारी रहेको अधिकारीले बताए। प्रदेश सभा सदस्य विष्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

Facebook Comments Box