युरेनियम कारोबार गरेको आरोपमा पक्राउ परेकालाई ललितपुर कांग्रेसका नेतासहित आठैजना छुटे
काठमाडौं, ४ चैत्र – अर्बौँ मूल्य पर्ने युरेनियम कारोबार गरेको आरोपमा पक्राउ परेकालाई ललितपुर कांग्रेसका नेतासहित आठैजना छुटेका छन्। अन्य ७ जनासहित पक्राउ परेका ललितपुर कांग्रेसका नेता नवराज महतसहित आठैजना हाजिरी जमानीमा शुक्रबार छुटेका हुन्।
तीन केजी युरेनियम जस्तो पदार्थ कारोबार गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। बरामद पदार्थ युरेनियम भए-नभएको पुष्टि हुन नसकेपछि अनुसन्धान फाइल नै सरकारी वकिलले फर्काइदिएको छ।
बौद्धस्थित हायात होटलबाट पक्राउ परेका महतसहित आठ जनाविरुद्धको मुद्दाको फाइल सरकारी वकिलको कार्यालयले फर्काइदिएसँगै महत छुटेका हुन्। सरकारी वकिलले अनुसन्धान अपूरो भन्दै फाइल फर्काइदिएको थियो।
सरकारी वकिलले बौद्धबाट बरामद उक्त धातु युरेनियम नभएको देखिएको भन्दै फाइल फर्काइदिएको हो। प्रहरीले आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग गरिने युरेनियम बेचबिखनमा संलग्न रहेको भन्दै पक्राउ गरेको थियो। प्रहरीको दाबी थियो ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गत फागुन २ गते हायात होटल परिसरबाट महतसहितलाई पक्राउ गरेको थियो। पक्राउ परेका महत २०७४ को प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जनसँग हारेका थिए।
प्रहरीले त्यसबेला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१ का ३४ वर्षीय भुपेन्द्र खड्का, हेलम्बु-४ का ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुरका ६० वर्षीय नवराज महत, सिरहाको लक्ष्मीपुर गाउँपालिका-३ का ४० वर्षीय गोपीलाल दास, सिरहाकै बरियारपट्टी गाउँपालिका-१ का ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरीका ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी, भारतको बिहारका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र विहारकै ४४ वर्षीय राजु ठाकुरलाई समातेको थियो।

