भारतले जित्यो आईसीसी टी–२० विश्वकप २०२६ उपाधि

काठमाडौँ, २५ फागुन – भारतले आईसीसी टी–२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक तथा समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो। भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि २०२४ मा पुनः उपाधि जितेको थियो। यसपटक पनि विजयी हुँदै भारतले लगातार दोस्रोपटक उपाधि रक्षा गर्न सफल भएको हो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारत ९६ रनले विजयी भयो। भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा अलआउट भयो। न्युजिल्यान्डका लागि टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए भने कप्तान मिचेल सान्टनरले ४३ रन जोडे। डारिल मिचेलले १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका लागि जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर चार विकेट लिए। अक्षर पटेलले तीन विकेट लिए भने हार्दिक पान्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान एक–एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको विशाल योगफल बनाएको थियो। सन्जु सामसनले ४६ बलमा पाँच चौका र आठ छक्कासहित सर्वाधिक ८९ रन बनाए।

इशान किशनले २५ बलमा ५४ रन तथा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए। शिवम दुबेले आठ बलमा २६ रनको आक्रामक पारी खेले। न्युजिल्यान्डका लागि जिमी नीशमले तीन विकेट लिए भने म्याट हेनरी र रचिन रविन्द्रले एक–एक विकेट लिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सन्जु सामसन ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले पाँच खेलमा तीन अर्धशतकसहित कुल ३२१ रन बनाएका थिए।

Facebook Comments Box