साना दलको मागबारे निर्वाचन आयोगले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने
काठमाडौं, ३० फागुन – दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ । आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका हुन् ।
उनले साना दलहरू दलीय चिह्नमा चुनाव लड्न अहिलेको मौजुदा ऐनले नदिने भएकाले ऐनको अधीनमा रही के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको बताए । निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि मतपत्रमा स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न दिन सकिने विकल्पमा पनि छलफल भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।
उनले यसअनुसार कुनै दलले मतपत्रको स्वतन्त्र समूहमा रहेको चुनाव चिह्न रोज्ने र सोही चिह्न लिएर ती दलका देशभरका उम्मेदवारले चुनावमा भाग लिन सकिने विषयमा कुराकानी भइरहेको बताए ।

