श्रीलंकाका स्टार खेलाडी सम्मलित श्रीलंका संयुक्त-११ सँग नेपाल पराजित

काठमाडौं, २७ फागुन – श्रीलंकाका स्टार खेलाडी सम्मलित श्रीलंका संयुक्त-११ सँग नेपाल पराजित भएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाल आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त-११ सँग ९२ रनले पराजित भएको हो।

श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर २ बलमा १ सय ४० रन बनाउंदा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । धरासायी बनेको नेपालको इनिङलाई मल्लले उकास्ने प्रयास गरेका थिए । मल्ल आउट भएसंगै नेपाल पुन: कमजोर बनेको थियो ।

कुशल भुर्तेलले ३२ रन बनाउंदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दिपेन्द्र सिंह ऐरीले २ रन, बिनोद भण्डारी र सगर ढकालले समान १/१ रन बनाउंदा बिक्रम सोब डक आउट भए । सन्दीप लामिछाने भने खाता नखोली अविजित रहे ।

श्रीलंका संयुक्त-११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका संयुक्त-११ ले ४८ ओभर २ बलमा २ सय ३२ रन बनाउँदा अल आउट भयो।

श्रीलंका संयुक्त-११ का ए फर्नान्डोले सर्वाधिक रन बनाए । उनले ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराक्कोडीले ४९ रन बनाए बनाउँदा मुनविराले १४, उपुल थरंगाले ३, थिसेरा परेराले ८, सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रन बनाएर पेभिलियन फर्किए ।

नेपालको लागि दिपेन्द्र सिंह ऐरी र सगर ढकालले समा ३/३ विकेट लिए । यस्तै सोमपाल कामीले २ विकेट, सन्दीप लामिछाने र आरिफ शेखले समान १/१ विकेट लिए ।

त्यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा सहज जित हात पारेको थियो । नेपालले यसअघि श्रीलंका पुलिस र श्रीलंका नेभीसंग अभ्यास खेल खेलेको थियो ।

नेपालले आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिजको लागि तयारी स्वरुप श्रीलंका भ्रमण गरेको हो । नेपालले आगामी इसिरिज यूएईमा खेल्दै छ ।

अब नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

Facebook Comments Box