पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता

पाकिस्तान, २५ फागुन – पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएको छ। विपक्षी दलको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो।

केही साताअघि बसेको गठबन्धनको बैठकपछि गठबन्धनका प्रमुख मौलाना फजलुर रहमानले गठबन्धनका सबै दल अविश्वास प्रस्तावको लागि तयार रहेको बताएका थिए।

पाकिस्तानको संविधान अनुुसार अविश्वास प्रस्ताव पारित गर्न संसदको साधारण बहुमत आवश्यक पर्छ। पाकिस्तानको संसदमा ३४२ सदस्य छन्।
यस्तोमा खानविरुद्ध १७२ मत परेको अवस्थामा उनले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हुन्छ।

इमरान खानको पार्टी पीटीआईसँग संसदको १५५ सिट छ। उनको पार्टीले सेनासँग निकट पार्टीसँग मिलेर सरकार बनाएको हो। यद्यपि पाकिस्तानका प्रधानमन्त्रीले भने अविश्वासको प्रस्तावबारे कुनै चिन्ता नरहेको स्पष्ट पारेका छन्। पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले विपक्षीले खानलाई सरकारबाट हटाउन गरेको यो १३ औं प्रयास रहेको बताए।

Facebook Comments Box