संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र विभाजनको डिलमा

काठमाडौँ, १७ फागुन – संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र विभाजनको डिलमा पुगेको छ। एमसीसी अनुमोदनमा समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही नेताहरुले माओवादी केन्द्र छाड्ने तयारी गरेका छन्।

परिस्थितिले नाटकीय मोड नलिए माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलसहितका केही पूर्व स्थायी समिति सदस्यहरु बाहिरिने छन्। फागुन २० गते डाकिएको केन्द्रीय समिति बैठकसम्म कुर्ने, त्यहाँ आफ्ना कुरा राख्ने र अनि बाहिरिने उनीहरुको योजना छ।

महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराएको भन्दै श्रेष्ठसहितलाई नयाँ पार्टी बनाउन तल्लो तहका नेताहरुले तीव्र दबाब दिएपछि यस्तो छलफल चलेको हो।

केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज जीवन गौतमले केन्द्रीय समिति बैठकमा आफ्ना कुराहरु राख्ने बताउँदै त्यहाँ सम्बोधन नभए नयाँ पार्टी निर्माणमा लाग्नुपर्ने निष्कर्षमा पुगेको बताए।

फागुन १५ गते बसेको संसद बैठकबाट करिब ५५ अर्ब बराबरको एमसीसी अनुदान सम्झौता र १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ अनुमोदन भएको थियो। त्यसप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तीव्र असन्तुष्टि जनाएका थिए।

Facebook Comments Box