काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी
काठमाडौँ, २२ माघ – कोरोना संक्रमणको विस्तार रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा यातायातका साधनमा लागू गरेको जोरबिजोर नम्बर प्रणाली हटाउने तयारी गरेका छन् । संक्रमण घट्दै गएको र गरिखाने वर्गलाई पनि मार पर्न थालेको भन्दै जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो ।
काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै यातायातका साधनमा लागू गरिएको जोरबिजोर प्रणाली गत माघ १४ गते मध्यरातदेखि लागू हुने गरी निजी सवारी साधन (दुई पांग्रे र चारपांग्रे) र ट्याक्सीमा सीमित गरिएको थियो । सार्वजनिक यातायातका साधनमा लागू गरिएको जोरबिजोर भने हटाइएको थियो ।
एक साताका लागि लागू गरिएको सो व्यवस्था शनिबार मध्यरातसम्म कायम रहनेछ। एक प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा संक्रमण निकै कम भइसकेको र सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको बताए ।
आइतबारसम्म सक्रिय संक्रमितको संख्या १५ हजारभन्दा मुनि पुग्ने आकलन गरिएको उल्लेख गर्दै उनले जोरबिजोरकै कारण गरिखाने वर्गलाई मार परेको महसुस भएकाले निर्णयमा पुनर्विचार गर्न लागिएको बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने संक्रमण घट्दै गएको र यही गतिमा घट्दै गए पूर्ववत् निर्णयमा पुनर्विचार हुनसक्ने बताए ।

