कमिसन बढाउन माग गर्दै पेट्रोलिय व्यवसायीद्धारा ढुवानी बन्द
काठमाडौं, २१ फागुन – इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको आक्रोशमा पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् ।
नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिदैंआएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् । सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन खरिद गरेका छन् ।
बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार रातिदेखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप १५ पैसा कमिसन दिनु पर्दथ्यो । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दैनिक उकालो लाग्दा निगमको नोक्सानी चुलिएको छ ।
जसले गर्दा निगम सञ्चालक समितिले बिक्रेता कमिसन हाललाई फागुन ७ गते कायम भए अनुसार नै यथावत राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले डिपोबाट इन्धन ढुवानी रोकेको हो । व्यवसायीहरुले इन्धन ढुवानी नगरे अन्य विकल्प प्रयोग गरेर पनि आपूर्ति सहज बनाइने निगमले जनाएको छ ।

