काजकस्तानमा सरकारविरोधी प्रदर्शनको क्रममा करिब १८ सुरक्षाकर्मी सहित दर्जनाै नागरिककाे मृत्यु, देशमा रुसी सेना परिचालन
काजकस्तान, २३ पुस – काजकस्तानका राष्ट्रपतिको अनुरोधपछि सरकारविरोधी प्रदर्शनका बीच रुसको सेना काजकस्तान पुगेको छ। विगत केही दिनदेखि जारी रहेको प्रदर्शनपछि मुलुकको सबैभन्दा ठूलो सहर अलमतमा मेसिन गनको आवाज सुनिएको छ।
अधिकारीहरुले प्रहरी र प्रदर्शनकारीहरुको मृत्यु भएको पुष्टि गरेका छन्। अधिकारीहरुका अनुसार प्रदर्शनको क्रममा करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ। काजकस्तानमा तेलको भाउ बढेसँगै प्रदर्शन सुरु भएको थियो। यद्यपि पछि प्रदर्शनकारीले यसमा केही राजनीतिक मुद्दा पनि थपेका थिए।
राष्ट्रपति कासिम जोमार्ट तोकायेभले यो प्रदर्शनमा विदेशमा प्रशिक्षित आतंकवादी गिरोहको हात रहेको बताएका छन्। यससँगै उनले सामूहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ)को सैन्य सहयोग मागेका थिए।
सीएसटीओ रुससहितका ६ पूर्व सोभियत मुलुकको संगठन हो। रुसी समाचार एजेन्सी आरआईए न्युजका अनुसार काजकस्तानको सहयोगका लागि २५ सय सैनिक पठाइएको छ। यी सेना केही साता काजकस्तानमा रहनेछन्।

