बाढीपहिरोका कारण इन्डोनेसियामा २० को मृत्यु, पाँच बेपत्ता
जकार्ता, २२ चैत – बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ र पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आज बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । स्थानीय समय अनुसार बिहान १ बजेतिर घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयल प्रवक्ता राडित्य जातीले जानकारी दिनुभयो । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
घटनामा परी घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजी कार्य जारी रहेको बताउनुभयो ।