म्यानमारको सेनाले महिला र बालबालिका सहित ३५ भन्दा धेरै आम नागरिकको हत्या : सेभ द चिल्ड्रेन
काठमाडौं, १२ पुस – बालबालिकाका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले म्यानमारमा आफ्ना दुई कर्मचारी बेपत्ता भएको बताएको छ। पछिल्लो दुई दिनयता उनीहरु सम्पर्कमा नआएको सेभ द चिल्ड्रेनको भनाइ छ।
लण्डनमा मुख्यालय रहेको संस्थाका अनुसार म्यानमारको सेनाले शुक्रबार काया राज्यमा ३५ भन्दा धेरै आम नागरिकको चरमपन्थी भन्दै हत्या गरेको थियो। हत्यापछि उनीहरुको शव जलाइएको सेभ द चिल्ड्रेनको भनाइ छ। संस्थाका अनुसार यो घटनामा कम्तीमा ३८ जना मारिएका छन्।
उनीहरुमध्ये अधिकांश शव बरामद गरिएको छ। संस्थाका अनुसार मानिसहरुलाई उनीहरुको कारबाट निकालेर गिरफ्तार गरेर हत्या गरी शव जलाइएको थियो। हत्या गरिएका मानिसहरुमा महिला र बालबालिका पनि रहेको सेभ द चिल्ड्रेनको भनाइ छ।
सेभ द चिल्ड्रेनका अनुसार संस्थाका कर्मचारीहरु आफ्नो काम सकेर बिदा मनाउन घर फर्किँदै गरेको अवस्थामा पक्राउ परेको थिए। त्यसयता उनीहरु बेपत्ता छन्। उनीहरुको निजी गाडीमा पनि सेनाले आक्रमण गरी आगजनी गरेको छ। म्यानमारको सेनाले भने मारिने सबै चरमपन्थी भएको दाबी गरेको छ।

