नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रतिनिधिको संख्या १७ सय पुगे

काठमाडौं, ११ पुस – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रतिनिधिको संख्या १७ सय पुगेको छ। सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताएको थियो। त्यसपछि १६ सय ३८ प्रतिनिधि पुगेको बताइएको थियो।

तर राष्ट्रिय सम्मेलनलाई महाधिवेशन प्रतिनिधिमा परिणत गरेसँगै महाधिवेशन प्रतिनिधि संख्या पनि बढेका हुन्। महाधिवेशनमा प्रतिनिधि संख्या १७ सय पुगेको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। बन्दसत्र प्रज्ञा प्रतिस्ठानकै भवनमा हुनेछ।

महाधिवेशन प्रतिनिधि बढेपछि माओवादीलाई व्यवस्थापनमा पनि चुनौती भएको छ। प्रज्ञा भवनमा जारी उद्घाटनमा हलमा नअटेपछि प्रतिनिधिहरु परिसरदेखि सडकसम्म बसेका छन्।

मा‌ओवादीले भोलि सोमबार बिहान ११ बजेदेखि बन्द सत्र थाल्ने भएको छ। ‘भोलि ११ बजेदेखिबन्द सत्र सुरु हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘१७ सय प्रतिनिधि पुगेका छन्। सबै क्लस्टरबाट मिलाउदा संख्या केही बढेको हो।’

सुरुमा राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले शनिबार बेलुका त्यसलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव स्थायी समितिबाट निर्णय गरेर केन्द्रिय समितिमा पठाएको थियो।

आइतबार बिहान बसेको केन्द्रीय समितिले उक्त निर्णय अनुमोदन गरेको थियो। माओवादी आठौं राष्ट्रिय महाधिवेशन आइतवार प्रज्ञा भवनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।

Facebook Comments Box