बुढीगण्डकीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार बाढीबाट ३४१ मेगावाट क्षमताको बुढीगण्डकी, २४ दशमलव पाँच मेगावाटको दोभान खोला, ३० दशमलव ५९ मेगावाटको यारखोला र १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो।

बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बाढीले बगाएको छ। दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने आयोजनाका लागि निर्माण गरिएको बेलीब्रिज पनि बगाएको छ।

त्यस्तै, यारखोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री र उपकरण बगाएको छ। माछाखोला जलविद्युत् आयोजनास्थल पुग्ने पहुँच सडक र आयोजनालाई जोड्ने पुलमा समेत क्षति पुगेको मन्त्रालयले जनाएको छ। बाढीका कारण जलविद्युत् आयोजनाका भौतिक संरचना र निर्माण कार्यमा भएको क्षतिको पूर्ण विवरण तथा आर्थिक नोक्सानीको यकिन विवरण सङ्कलन हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box