नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्याे
काठमाडौं, १० पुस – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बसेको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त भएलगत्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको हो।
बैठकले पाँचवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। उनका अनुसार बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको छ।
यस्तै पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय बैठकले गरेकाे छ। यसैगरी राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय बैठकले गरेकाे उनले बताए।
महामन्त्री थापाका अनुसार बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

