देशका ५७ जिल्लाका किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप सञ्चालन, २० जिल्लाका किशोरकिशोरीलाई फाइजर खोप दिने

काठमाडौँ, ५ पुस – देशका ५७ जिल्लाका किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप सञ्चालन गरेको सरकारले बाँकी २० जिल्लाका किशोरकिशोरीलाई फाइजर खोप दिने भएको छ।

यही पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि फाइजर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए।

मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई मोडर्ना खोप अभियान सञ्चालन गरेको छ। देशका बाँकी २० जिल्लामा चाहिँ सरकारले फाइजर खोप अभियान सञ्चालन गर्न लागेको हो।

पहिलो चरणमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप अभियान सञ्चालन हुनेछ। त्यसपछि लगत्तै झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा फाइजर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।  ८ जिल्लामा पहिलो मात्रा लगाएकालाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा फाइजर खोप दिइने छ।

Facebook Comments Box