पाठ्यक्रममा मानव अधिकार शिक्षा सम्बन्धि अन्तरक्रिया
काठमाडौं, २३ जेठ – माध्यमिक तहको पाठ्यक्रम , पाठ्यपुस्तक , शिक्षक निर्देशिका लगायत स्रोत सामाग्रीमा मानव अधिकार शिक्षा तथा मानव अधिकारका विषय के कस्तो छ भन्ने विषयमा अन्तरक्रिया ललितपुरमा सुरु भएको छ।पाठ्यक्रम विकास केन्द्रको समन्वयमा राष्ट्रिय मानव अधिकार आयोगले शैक्षिक अन्तरक्रिया गरेको हो।
अन्तरक्रियामा पाठ्यपुस्तक लेखक तथा सामाजिक अध्ययन पाठ्यक्रम निर्माण कार्यदलका सदस्यहरू,पाठ्यक्रम विज्ञ तथा मानव अधिकारकर्मीको सहभागिता रहेको छ।
सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले विद्यालय तहको पाठ्यक्रममा मानव अधिकार शिक्षा सम्बन्धित विषयको अवस्था कार्यान्वयनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड बारे स्पष्ट पार्नु भयो ।
परिमार्जन हुँदै गरेको सामाजिक अध्ययनको पाठ्यक्रममा मानव अधिकारका समावेश गरिएका विषय बारे पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतमले प्रस्तुतीकरण गर्नु भयो।
अन्तरक्रियालाई राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल र पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले सफलता शुभकामना राख्दै मानव अधिकार बारे संवेदनशील भएर विषयवस्तु समेट्न र कार्यान्वयन गर्न सुझाउनु भयो।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत इन्द्रजीत सहनीले अन्तरक्रियाको सहजीकरण गर्नु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार अन्तरक्रियाले पाठ्यक्रममा संलग्न गर्न सक्ने मानव अधिकारका विषयवस्तुहरूमा देखिएका सबालहरूको बारेमा सम्बन्धि सरोकारवाला क्षेत्रमा सिफारिस गर्न सक्नेछ ।

