राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बाहिरका राजसंस्था र हिन्दू राष्ट्र पक्षधरलाई ६ महिनाभित्र एक बनाउने घाेषणा

काठमाडौं, १९ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बाहिरका राजसंस्था र हिन्दू राष्ट्र पक्षधरलाई ६ महिनाभित्र एक बनाउने बताएका छन्। उनले राजावादी र हिन्दुवादी सबै संघ संगठन र पार्टी हरुलाई एकताबद्ध गरेर लैजाने प्रतिवद्धता निर्वाचित भएपछि जनाएका हुन्।

जितपछि छोटो कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। ‘राप्रपा बाहिरका राजसंस्था र हिन्दू राष्ट्र माग्ने सबै व्यक्ति, समूह, संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्नेछौँ’, उनले भने, ‘त्यो शक्तिका आधारमा निर्वाचनको तयारी गर्दै सडक संघर्ष पनि थाल्छौँ। जहाँबाट छिटो हुन्छ, त्यतैबाट राजसंस्था स्थापना गर्छौँ।

लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको कमी कमजोरी सच्चाएर कांग्रेस र कम्युनिस्टको विकल्प मात्रै नभइ जनताको मन जित्ने पार्टी बनाउने वाचा पनि गरेका छन्। ‘हाम्रो पार्टी ३१ वर्षको इतिहासमा खिइँदै–खिइँदै कमजोर भएर अहिले सर्वाधिक नाजुक अवस्थामा आइपुगेको छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको हैसियतमा पनि छैन। हामीले विभाजित पार्टी फेरि एकीकरण गर्‍यौँ। एकीकरण गरेको दुई वर्ष बित्दा पनि हाम्रा नेताहरुले पार्टीमा सुधार र विकासका कुनै संकेत देखाउनु भएन।’

देशमा ठूला–ठूला राष्ट्रिय मुद्दा र घटना हुँदा पनि राप्रपाको अस्तित्व नदेखिएको बताए। ‘यो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन’, उनले भने, ‘त्यस्तो अकर्मण्य अवस्थामा पनि उहाँहरु झगडा गरेर बस्नुभयो।’ लिङ्देनले अब ठूला–ठूला राष्ट्रिय मुद्दा र घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी कहाँ थियो भन्ने दिन आउन नदिने पनि वाचा गरेका छन्।

Facebook Comments Box