सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ र सङ्कटा बिचको खेल बराबरी

काठमाडौं, १८ मङ्सिर – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आठ पटकको लिग च्याम्पियन मनाङ मस्याङ्दी क्लबले सङ्कटा क्लबसँग २-२ गोलको बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुईपटक पछि परेको मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी गर्दै अंक बाडेको हो।

संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे। मनाङका दयानन्द सिंह र फ्रान्कलिन कोटे टालाले गोल फर्काए। ३१औं मिनेटमा निरज बस्नेतको गोलबाट संकटाले अग्रता लिएको थियो। उनले लक्ष्मण रुचालको फ्रिकिकमा गोल गरे।

३५औं मिनेटमा मनाङका लागि दयानन्द सिंहले बराबरी गोल फर्काए। पुजन उपरकोटीको फ्रिकिकमा ओलावालेको हेडर पासलाई दयानन्दले पनि हेडरमार्फत गोलमा परिणत गरे।

७०औं मिनेटमा उत्तम राईको खेलमा संकटा २–१ ले अघि रह्यो। फोड फोफानाको क्रसमा उनले गोल गरे। इन्ज्युरी समयको चौथो मिनेटमा फ्रान्कलिन कोटे टालाले पेनाल्टी बक्सबाहिरबाट बराबरी गोल फर्काउँदै मनाङलाई हारबाट जोगाए।

बराबरीसँगै अपराजित रहेको मनाङले शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ। मनाङको ३ खेलबाट ७ र संकटाको ३ खेलबाट ५ अंक छ।

Facebook Comments Box