राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै
काठमाडौं,१८ मङ्सिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। काठमाडौंमा बुधबारदेखि जारी राप्रपाको एकता महाधिवशेनअन्तर्गत आज उम्मेदवारहरू बीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
त्यसका लागि अहिले बिहान ८ बजे मतदान सुरु हुँदै छ। मतदान ५ बजेसम्म जारी रहने राप्रपाको निर्वाचन समितिले जनाएको छ। राप्रपाको नेतृत्व लिन प्यानलसहित वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। उनीहरूले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
राप्रपाको केन्द्रीय समितिमा रहने पदाधिकारीसहित १४१ सिटका लागि २६४ जनाको उम्मेदवारी परेका छन्। राप्रपा केन्द्रीय निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतका अनुसार उपाध्यक्षमा २ महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन्। यस्तै महामन्त्रीमा दुई महिलासहित ६ जनाको उम्मेदवारी परेको छ।
राप्रपाको विधानअनुसार निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष ४ र महामन्त्री ३ जना चुनिनेछन्, अन्य सदस्य हुनेछन्। उपाध्यक्ष र महामन्त्रीमा एक/एक जना महिला अनिवार्य गरिएको छ। यसबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ।
राप्रपा अध्यक्ष पदको मतदानमा कागज प्रयोग हुनेछ भने अन्य पदमा युवा वैज्ञानिकहरू राम-लक्ष्मणले बनाएका ९१ वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिँदै छ। उनीहरूकै विद्युतीय मेसिन एमालेले पनि प्रयोग गरेको थियो। एक जना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने बताइएको छ। मतदानमा ४ हजार ७ सय प्रतिनिधि सहभागी हुँदै छन्।

