स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश
काठमाडौं, २८ असार – अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो।निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै प्रभावशाली जित दर्ता गर्यो। खेलको १२०औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। अतिरिक्त समयमै जुलियन अल्भारेजले पनि टोलीका लागि अर्को गोल गरेका थिए। अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो। कप्तान लियोनल मेसीको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत् गोलमा परिणत गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर. रोड्रिगेजमार्फत् बराबरी गोल फर्काएको थियो। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलका क्रममा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। अर्जेन्टिनाका खेलाडीविरुद्ध फउल गरेपछि स्विट्जरल्यान्डका बी. इम्बोलाले रातो कार्ड पाउँदै मैदान छाडेका थिए।
यसअघि शनिबार बिहान सम्पन्न अर्को क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अब सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

