राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु
काठमाडौं , १५ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ। हिन्दू राज्य र राजसंस्थाको पक्षमा रहेको राप्रपाको महाधिवेशनको बुधबार दिउँसो राजधानीको भृकुटीमण्डपमा उद्घाटन गरिएको हो।
महाधिवेशनको तीन अध्यक्ष पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले तीनवटा पानसमा बत्ती बालेर गरेका हुन्।
महाधिवेशनमा देशका विभित्र राजनीतिक दलहरूका नेता पनि अतिथिका रुपमा सहभागी रहेका छन्। यो महाधिवेशनमा राप्रपाका ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिबाट सहभागी भएका छन्। राप्रपाको यो महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन नयाँ अध्यक्षका लागि चुनावी मैदानमा छन्।
एकता महाधिवेशनबाट नेतृत्व लिन खोजेका थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्द लगायतले साथ दिने भएका छन्। लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी र धवलशमशेर राणा जस्ता वरिष्ठ नेताहरूले साथ दिएका छन्।

