प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर, ३ पुस – बागमती प्रदेशसभाका विपक्षी दलहरूले प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन नबोलाएकोमा सरकारप्रति आपत्ति जनाएका हुन्।

विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको र लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोप लगाएका छन्। ज्ञापनपत्रमा जनताका आवाज उठाउने थलो प्रदेशसभालाई लामो समय बन्द राख्नु लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासविपरीत हुने उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादी संसदीय दलका नेता वसन्त मानन्धर र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ।

विपक्षी दलहरूले प्रदेशसभा नियमावलीअनुसार सरकार स्वयंले अधिवेशन नबोलाए एक चौथाइ सांसदको निवेदनमा विशेष अधिवेशन आह्वान गर्न सकिने व्यवस्था रहेको स्मरण गराउँदै त्यस्तो अवस्था आउन नदिन सरकारलाई चेतावनी दिएका छन्।

Facebook Comments Box