बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

काठमाडौं, २२ कात्तिक – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन्। सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

बहुमतका आधारमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डे यही कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले एक महिना नपुग्दै विश्वासको मत लिन लागेका हुन्।

सोमबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव पेश हुँदैछ। सम्भवत आजै मुख्यमन्त्रीको पस्तावमा मतदान हुने एक नेताले जानकारी दिए।

प्रदेशसभामा बहुमत गुमाएपछि एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले समर्थन गरेका छन्।

बागमती प्रदेशसभामा हाल १०९ सांसद छन्। प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक पर्छ। मुख्यमन्त्री नियुक्त हुँदा पाण्डेको पक्षमा ५९ जना सांसदले हस्ताक्षर गरेका थिए।

बागमती प्रदेश सभामा एमालेका ४३ जना, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई–दुई जना तथा जनता समाजवादी पार्टीका एकजना सांसद छन्।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसहितका सत्ता गठबन्धनका दलले केन्द्रदेखि प्रदेशसम्म भागबण्डाको आधारमा सरकार गठन गरेका छन्।

Facebook Comments Box