अमेरिकाको विभिन्न स्थानमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु

अमेरिका, १६ कात्तिक – अमेरिकाको विभिन्न स्थानमा हेलोवीन पार्टीको क्रममा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अमेरिकाको विभिन्न ११ स्थानमा अन्धाधुन्ध गोली चलेको हो। यी सबै आक्रमणमा परी ५२ जना मानिसहरु घाइते भएका छन्।

अमेरिकाको इलिनोएसमा हलोवीनको पार्टीमा भएको आक्रमणमा दुईजनाको मृत्यु भएको थियो भने दर्जनभन्दा धेरै मानिस घाइते भएका थिए।यसअघि आइतबार बिहान कोलोराडोमा पनि गोली आक्रमणमा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए। आइतबारै केन्टुकीमा पनि सोही प्रकृतिको आक्रमणमा दुई जनाको मृत्यु र दुई घाइते भएका थिए।

टेक्सासमा पनि दुई छुट्टाछुटै गोली आक्रमणमा दुई जनाको मृत्यु र १२ जना घाइते भएका थिए। त्यस्तै क्यालिफोर्नियामा ३ जना र फ्लोरिडामा एक जनाले गोली आक्रमणमा ज्यान गुमाएका छन्।

पछिल्लो समय अमेरिकामा ठूलो संख्याका मानिसलाई लक्षित गरी गोली आक्रमणको क्रम बढेको छ। विशेषगरी कोरोना भाइरसको महामारीमा यो क्रममा उल्लेख्य वृद्धि भएको हो। बढ्दो गोली आक्रमणले अमेरिकाको आर्थिक तथा सामाजिक क्षेत्रमा नकारात्मक असर पार्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन्।

Facebook Comments Box