परम्परागत कालानमक धानको जात लोप हुँदै

बाँके, ४ मङ्सिर – बाँके जिल्लामा परम्परागत कालानमक धानको खेती क्रमशः हराउँदै गएको छ। किसानहरूले लगानीअनुसारको प्रतिफल नपाउने, सिँचाइ तथा स्याहारसुसार बढी लाग्ने र रोग–कीराको प्रकोप देखिने जस्ता कारणले यो जातको धान छाड्दै ‘हाइब्रिड’ धानतर्फ आकर्षित हुँदै आएका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार उच्च तहका उपभोक्ता र पर्यटकबीच लोकप्रिय भए पनि उत्पादन न्यून भएकै कारण किसानहरू अन्य जाततर्फ उन्मुख भएका हुन्।

मसिनो र बास्नादार स्वादका कारण चिनिने कालानमक धान कालो अन्न भएकाले यस्तो नाम दिइएको हो। करिब १४० दिनमा पाक्ने यो धान अतीतमा बाँके र बर्दियामा प्रचलित थियो। “विभिन्न नयाँ प्रजाति आएपछि किसानहरू छोटो समयमा धेरै उत्पादन गर्ने धानतर्फ लागे,” पाठकले भने, “हाल भने यसको खेती लगभग शून्य भएका कारण प्रवर्द्धनमा लागेको छौँ।”

यो वर्ष बाँकेमा ३४ हजार १९० हेक्टरमा धानखेती भएको भए पनि कालानमकसहित परम्परागत जातको क्षेत्रफल गणनामा नपर्ने अवस्थामा पुगेको छ। संरक्षणका लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा प्रचार–प्रसार थाल्दै कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त बीउ प्रयोग गरी बैजनाथ गाउँपालिका–८ टिटिहिरियामा प्रदर्शन खेती गराइएको छ।

पहिलेको कालानमक धान उचाइ बढी हुने र खेतमै ढल्ने समस्या देखिएकाले हाल होचो बोट हुने बीउ प्रयोगमा ल्याइएको छ। किसानहरूले रासायनिक मल अत्यधिक प्रयोग गर्दा ढलाइ बढ्ने भएकाले युरिया, डिएपी र पोटासको सन्तुलित मात्रा प्रयोग गर्न सुझाव दिइएको पाठकले बताए।

कृषि ज्ञान केन्द्रको समन्वयमा टिटिहिरियाका किसान गङ्गानारायण चौधरीले एक हेक्टर क्षेत्रफलमा कालानमक धान खेती गर्दै आएका छन्। धान पाकिसकेकाले शीघ्र भित्र्याउने तयारी भइरहेको उनले बताए। पाँच वर्षदेखि कालानमक र कुइनुर बासमती धान उब्जाउँदै आएका चौधरीका अनुसार एक हेक्टरबाट करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ। अन्य धान भित्रिएपछि चरा, मुसा तथा कीराको समस्या बढी देखिने उनले बताए।

कालानमक चामलको बजार भने स्थिर छ। सामान्य धान प्रतिक्विन्टल करिब रु ३,५०० मा बिक्री हुँदा कालानमक चामल प्रतिक्विन्टल रु १०,000 सम्म पर्छ। उत्पादन लागत धेरै भएकाले मूल्य महँगो हुने गरिएको छ। असारमा रोपिएको कालानमक धान मङ्सिरको पहिलो सातातिर मात्र पाक्ने र पर्याप्त सिँचाइ चाहिने भएकाले रोग–कीराको जोखिम पनि तुलनात्मक रूपमा बढी रहने किसानहरूको भनाइ छ।

बाँकेमा किसानहरूले रामधान, राधा–४, एमपी–६०, गोरखनाथलगायतका हाइब्रिड जातहरू मुख्य रूपमा खेती गर्दै आएका छन्। मसिनो चामल प्रवर्द्धन गर्ने प्रयास भइरहे पनि किसानहरूको रुचि कमजोर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरे बताउँछन्। उत्पादन वृद्धि गर्ने उद्देश्यले मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत बीउ तथा प्रविधिमा अनुदान दिने व्यवस्था गरिएको उनले जानकारी दिए।

Facebook Comments Box