आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले हरायाे
काठमाडौं, १४ कात्तिक – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार राति भएको दोस्रो खेमा इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले हराएको छ।
जारी विश्वकपमा इङ्ल्यान्डले लगातार तेस्रो जित दर्ता गराएको हो। दुबईमा भएको खेलमा अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाउँदै भेट्टायो।
इङ्ल्यान्डलाई जिताउने क्रममा अविजित रहेका जोस बट्लरले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। इङ्ल्यान्डका लागि जासन रोयले २२ रन बनाए भने डाभिड मालन ले केबल ८ रन जोडे। जोनी बेयर्सटो १६ रनमा अविजित रहे।
अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एक एक विकेट झारेका थिए। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रनको सामान्य योगफल बनाएको थियो।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रनको योगदान दिए। एस्टन अगरले २० रन बनाउँदा म्याथ्यु वेडले १८ रनमा सीमित भए। त्यसैगरी मिचेल मार्शले १३, पाट कुमिन्सले १२, ग्लेन म्याक्सवेलले ६ र डेभिड वार्नरले केबल एक रन मात्रै बनाए।
विजयी इङ्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट झारे। क्रिस वोक्स र ट्यामल मिल्सले समान २-२ विकेट लिन सफल भए। यो जितपछि इङल्यान्ड ३ खेलबाट ६ अंक जोड्दै समूह १ को शीर्ष स्थानमा रहन सफल भएको छ। पहिलो हार भोगेको अष्ट्रेलिया ३ खेलबाट ४ अंकसहित तालिकाको चौथो स्थानमा छ।