वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आज देखि सञ्चालनमा आउँदै
विराटनगर, ६ कात्तिक – बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आज देखि सञ्चालनमा आउँदै छ।
विमानस्थलको धावनमार्गमा बाढी पसेपछि विगत तीन दिनदेखि विमानस्थल बन्द थियो। जमेको पानी सुक्दै गएपछि आजबाट विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो। अब तत्कालका लागि भीएफआर उडान मात्र हुने प्राधिकरणले जनाएको छ।
उपकरणहरुको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ। दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई विराटनगर विमास्थलबाट रात्रिकालीन उडान हुनेछैन।
विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो। नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए।
स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो।

