एनभिडियाका सीईओ जेन्सेन हुआङले नेपाललाई दिए १ करोड डलर सहयोग

काठमाडौँ, १९ भदौ – विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग प्रदान गरेका छन्। रसुवाको भोटेकोशी जलाधार क्षेत्रलगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो। यो रकम नेपाली रुपैयाँमा करिब रु एक अर्ब ५० करोडभन्दा बढी हुन्छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत हुआङको सहयोगको पुष्टि गर्दै नेपाल सरकारका तर्फबाट उहाँप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले हुआङको सहयोगले अन्य व्यक्ति तथा संस्थालाई समेत विपद् प्रभावितको सहयोगमा अघि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ।

उक्त सहयोग बाढीपहिरो प्रभावितका लागि हालसम्म कुनै बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त सबैभन्दा ठूलो सहयोगमध्ये एक भएको जनाइएको छ। अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम रु १० अर्बभन्दा बढी पुगेको छ। प्राप्त रकम रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।

Facebook Comments Box